शीर्ष बैठक -प्रचण्डले ‘गृहमन्त्रीको कुरा सुनिदिनुस्’ भनेपछि तयार भयो एमाले

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७७ दिन अगाडि
शीर्ष बैठक -प्रचण्डले ‘गृहमन्त्रीको कुरा सुनिदिनुस्’ भनेपछि तयार भयो एमाले

 काठमाडाै‌- एकपटक संसदमा गृहमन्त्रीको कुरा सुनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेपछि एमाले त्यसका लागि तयार भएको छ ।

संसद्को गतिरोध हटाउन दुई दिनसम्म लगातार भएको प्रयास सफल नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा गृहमन्त्रीको कुरा सुन्न एमालेसँग आग्रह गरेका हुन् । गृहमन्त्रीको कुराले प्रतिपक्षी दल सन्तुष्ट हुने विश्वास गर्दै प्रचण्डले प्रतिपक्ष सन्तुष्ट नभएमा सहमतिका लागि फेरि पहल गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान सभामुख देवराज घिमिरेसहित बसेको शीर्ष नेताको बैठकमा प्रचण्डले सुन तस्करीको छानबिनमा भइरहेको प्रगतिबारे गृहमन्त्रीले सम्बोधन गर्ने बताएका थिए ।प्रधानमन्त्रीको यस्तो आग्रहपछि एमालेले गृहमन्त्रीको कुरा सुन्ने र त्यसपछि थप कदम चाल्ने बताएको छ ।माओवादी प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले संसदमा विषयलाई प्रस्ट पारेपछि एमाले संसद् सुचारु गर्न राजी हुने विश्वास व्यक्त गरे ।

‘संसदमा दलीय आधारमा सबै पार्टीले बोल्ने र गृहमन्त्रीलाई सम्बोधन गर्न समय दिने सहमति भयो,’ पाण्डेले भने, ‘गृहमन्त्रीको जवाफबाट एमाले सन्तुष्ट हुने विश्वासमा छौं । सहमति नभए फेरि बसौंला भनेर प्रधानमन्त्रीज्यूले भन्नुभएको छ ।’ बालुवाटार बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको माग गृहमन्त्रीले सम्बोधन गरे बैठक चल्ने अन्यथा उभिएर विरोध गर्ने बताए ।  एमालेको विरोधका कारण साउन १० देखि संसद् अवरुद्ध हुँदै आएको छ । पटक–पटक सूचना टाँसेर स्थगित बैठक मंगलवार ३ बजेका लागि बोलाइएको छ ।