काठमाडाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम क्षेत्रको सुधारका लागि सरकारको पहल आवश्यक हुनु पर्ने बताएका छन्।
उनले आदिवासी जनजाति दिवसको अवसरमा हुम्लाका युवाहरूको सांस्कृतिक कार्यक्रममा बोल्दै दुर्गम क्षेत्रको विकासमा सरकार लाग्नुपर्ने बताए । सरकारको सहयोग बिना दुर्गम क्षेत्रको पूरा विकास सम्भव छैन। उनले भने शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, जडीबुटी उत्पादन र प्रशोधन क्षेत्रको विकासका लागि सरकार चाहन्छ। उनले सरकारलाई दुर्गम जिल्लाको सुधार गर्न ध्यानाकर्षण समेत गराए।
अध्यक्ष ओलीले, " हुम्लाको दुर्गमता र अप्ठ्यारो जिन्दगीलाई सहज र सुखमय जिन्दगीमा परिणत गराउनका लागि के गर्न सकिन्छ त्यस बारेमा सोच्ने र त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेको छु," भने। उनले हुम्लाको साथमा आफू रहेको बताउँदै हुम्लावासी युवालाई हर तरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लिमी हुम्लाको तल्लो भागदेखि माथिल्लो लिमी उपत्यकासम्म केही गर्न सकिन्छ भनेर सोचिरहेको बताए। "त्यहाँको विद्यालय भवनको स्तर विकास गर्न सकिन्छ । विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्न सकिन्छ भनेर मैले सोचिरहेको छु” उनले भने। उनले आदिवासी जनजातिले आफ्नो पहिचान र थर लेख्न पाउनु आधारभूत अधिकार भएकाे बताए ।
अध्यक्ष ओलीले कुन–कुन जाति सूचीकृत हुन बाँकी रहेका छन् ती जातिलाई सूचीकृत गर्नका लागि आफूले पहल गर्ने समेत बताए । उनले ताप्लेजुङ, मुगु, हुम्ला र डोल्पा लगायत दुर्गम क्षेत्रका बालबालिका काठमाडौंमा ल्याएर पढाउने हो भने ती बालबालिकाले भोलिको दिनमा मुलुकको नेतृत्व लिन सक्ने बताए । ती बालबालिकाको नेतृत्व विकासका लागि शिक्षा दिन आवश्यक रहेको उनको धारणा थियो ।