काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सामुदायिक वन कार्यक्रमले वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफलता हासिल गरेको बताएका छन्।
उनले "चार दशक पहिले सुरु भएको सामुदायिक वन कार्यक्रम, स्थानीय उपभोक्ताहरूलाई वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी दिनु पर्छ भन्ने अवधारणाले आज नेपालमा मात्र नभइ विश्वभर नै प्रसिद्ध छ" भने।
प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिबद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानले कार्यक्रम सफल बनाएको बताए। उनले सामुदायिक वन व्यवस्थापनमा सुशासन, विकास र सामाजिक न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको । यसका उद्देश्य नीतिगत, संस्थागत तथा प्रक्रियागत समस्याहरूलाई सरोकारवालाहरूको समन्वय र सहकार्यमा समाधान गर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, "वनक्षेत्र नेपालको तुलनात्मक तथा प्रतिस्पर्धी लाभको क्षेत्र हो, वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण, उत्पादन, प्रवर्द्धन र विविधीकरण मार्फत देशको समृद्धिमा ठूलो योगदान पुग्ने देखिन्छ," उल्लेख गर्दै, "त्यसैगरी, सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक श्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्न आवश्यक छ।’"