काठमाडाै - पाकिस्तानी संसद भंग भएको छ।
राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा संसद भंग गरेका हुन् ।
अगस्ट १२ मा पाकिस्तानी संसदको कार्यकाल समाप्त हुँदै थियो तर त्यसभन्दा तीन दिन अगाडि नै संसद भंग गरिएको हो। अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।
बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको छ । नेता रियाजले नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको कोसिस गर्न छलफल गर्न लागेको बताएका छन्।
अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ ।