फिल्म 'दान्भी' मा एक्सन अवतारमा देखिँदै पूजा शर्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८८ दिन अगाडि
फिल्म 'दान्भी' मा एक्सन अवतारमा देखिँदै पूजा शर्मा

काठमाडाै -अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ ।

काठमाडौंको नैकापमा सेट नै लगाएर यसको निर्माण पक्षले क्लाइमेक्सका दृश्यहरू खिचिरहेको छ । जहाँ, अभिनेत्री पूजाको एक्सनको दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गरिरहेका छन् । हरि लामा घलेको छायांकनमा तयार भइरहेको फिल्मका सह–निर्देशक नवराज शर्मा हुन् । फिल्ममा कथा रविना थापा मगरको छ भने पटकथा तथा संवाद संजोग रानाको छ । फिल्ममा अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।  अनुप गदाल र देव मगरको लगानीमा तयार भइरहेको यो फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह–निर्माताको रुपमा छन् ।  फिल्म ‘दान्भी’को क्लाइमेक्समा सय जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौँ’ उनले भने, ‘दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आउनुभएको उच्च तहको एक्सन नेपाली फिल्ममा पनि अब देख्न पाउनुहुनेछ ।’  फिल्मको क्लाइमेक्सका लागि ३ दिनदेखि काम गरिरहेकी अभिनेत्री पूजा शर्माले आफूले सक्दो मेहनत गरिरहेको बताउँछिन् । ‘फिल्मको मेकरले एक्सनका लागि कुनै कसर बाँकी राख्नु भएको छैन । मैले पनि आफूले सकेको मिहिनेत गरिरहेको छु’ उनले भनिन् ‘आशा छ, दर्शकले नेपाली फिल्ममा एक्सनको नयाँ प्रयोग हेर्न पाउनुहुनेछ ।’ 

पूजाले एक्सनमा काम गर्न सजिलो नभएको समेत तर्क गरिन् । यसअघि प्रायः रोमान्टिक भूमिकामा देखिँदै आएकी पूजालाई दर्शकले अब एक्सन अवतारमा पनि देख्न पाउने भएका हुन् ।  फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो फिल्म आम दर्शकका लागि प्रतीक्षित बनिसकेको छ । फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । फिल्मको क्लाइमेक्स र केही एक्सनको दृश्य खिचेर यसको निर्माणपक्ष बाँकी दृश्यका लागि दार्जिलिङ प्रस्थान गर्नेछ ।