काठमाडाै-अर्थमन्त्री डा. प्रकाशशरण महतले नेकपा एमालेले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् ।
आज नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने बताए ।नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे । मन्त्री डा. महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण पेश हुने क्रममा रहेका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौं महत्वपूर्ण विषयवस्तु र कानून निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए। मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेशसहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी दिए ।