काठमाडौं- प्रदर्शनको संघारमा रहेको चलचित्र ‘ऐंचो पैंचो’ टिमले यतिबेला प्रचार प्रसारका गतिविधिलाई तिव्रता दिएको छ ।
राजनीतिक विषयलाई केन्द्रमा राखेर ट्रेलर सार्वजनिक गरेसँगै चलचित्रले एक प्रकारको चर्चा पाइरहँदा निर्माण टिम पनि प्रचारमा लागि परेको छ।
अर्कातर्फ चलचित्रमा अभिनेत्री वर्षा राउतको भूमिका न्यून रहेको र उनलाई स्थान नै नदिएको जस्ता गसिपले पनि बजारमा राम्रै चर्चा पाइरहेको छ । यद्यपि चलचित्रकी अभिनेत्री राउत स्वयंमले यस बारेमा प्रष्ट पारेकी छिन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको भेटमा अभिनेत्री राउतले ट्रेलरमा स्थान नदिए पनि आफ्नो भूमिका सशक्त रहेको संकेत गरिन् । उनले भनिन्, ‘जसरी निर्देशक कृषा चौँलागाईंले ट्रेलरलाई राजनीतिक विषयवस्तुले पूर्ण बनाउन सक्नु भएको छ त्यसरी नै मेरा भूमिकालाई गौण राख्न सफल देखिनु भएको छ’, उनले थपिन्, ‘त्यो मेकर सफल हो रे, जसले ट्रेलरमार्फत दर्शकलाई झुक्याउन सक्छ त्यसरी नै मेरो भूमिकालाई गौण राखिएको होला !’
अभिनेत्री राउतले चलचित्रमा कति समय आफू पर्दामा आएँ भन्दा पनि आफ्नो भूमिकाले दर्शकको मन र मस्तिष्कमा कस्तो असर पुर्यायो वा त्यो निर्वाह गरेको भूमिकाले चलचित्रलाई कति योगदान पुर्यायो त्यो नै महत्वपूर्ण रहने पनि बताइन् ।