शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८१ दिन अगाडि
शनिबार बागमतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

 काठमाडाै‌ -बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ ।

नेपाल एसाेसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डाेलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।  नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्‍याफ्टिङ र जल पर्यटनको उजागर गर्न र नदी महोत्सव तथा महाजलयात्रा गर्न लागिएको जानकारी दिए । ललितपुरको कुपन्डाेलस्थित बागमती पुलबाट बिहान ७ बजेदेखि सुरु हुने महाजलयात्रामा १५ वटा डुंगामार्फत जलयात्रा गरिने उपाध्यक्ष खनालले बताए । काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो ।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । उक्त महोत्सव तथा महाजलयात्रा सम्पन्न गर्न रु. पाँच लाख लाग्ने आयोजकले जनाएको छ । बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजलयात्रामा सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्नेछन् ।