अब चलचित्र ‘महापुरुष’ शुक्रबारबाट सिनेमा घर एपमा प्रदर्शन हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८० दिन अगाडि
अब चलचित्र ‘महापुरुष’ शुक्रबारबाट सिनेमा घर एपमा  प्रदर्शन  हुँदै

काठमाडाै‌ -सुपरहिट फिल्म ’महापुरुष’ यो शुक्रबारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ ।

शुक्रबारै प्रेसमिट गर्दै सिनेमाघर र चलचित्र टीमले यस बारेमा औपचारिक जानकारी गराएको हो । फिल्म ‘महापुरुष’ सिनेमाघर एपमा विज्ञापन रहित सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले हेर्न सकिनेछ ।

महापुरुषलाई सिनेमा घरमा हेर्न जम्मा दुई सय रुपैयाँ तिर्नु पर्नेछ । सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढि एप डाउनलोड भईसकेको समेत उनले जनाए ।

लामिछानेले यूट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए । अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्याधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो ।

त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए। उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ ।

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठुलो संख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा खुसी व्यक्त गरे । कलाकार तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए ।

यसअघि फिल्म ’जात्रै जात्रा’ निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिती बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा ’महापुरुष’ सफल हुने विश्वास जनाए।

सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको बताए ।

सन् २०१६ देखि सञ्चालित नेपालको पहिलो ओटीटी प्लाटफर्म ’सिनेमाघर एप’का प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् ।

यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा ’महापुरुष’का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दिपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।