काठमाडाै-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास भइरहेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोसी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको बताएका हुन्। सामाजिक सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न लामिछानेले आग्रह गरेका छन्।
‘अहिले पनि कतिपय मानिसहरु प्रश्न सोध्नुहुन्छ, त्यो प्रश्नभित्र नियत बसेको हुन्छ,’ उनले भने, ‘आजै मैले बोलेका कुरा जति बंग्याएर हालेपनि हुन्छ। बंग्याएर, टिंग्याएर, गलत हेडलाइन दिएर जुधाउने, एउटा जाति र अर्को जातिलाई लडाउने अभिव्यक्ति दिने त्यस्ता मिडिया हेर्दा पनि नहेर्नुुस्, त्यस्ता सोसल मिडिया अकाउण्ट भएका मानिसहरु ब्लक गर्नुहोस्। समाजको सद्भाव खल्बल्याउने मान्छेहरु किन ब्लक नगर्ने ?’ सभापति लामिछानेले जातिजातिबीच द्वन्द्व अहिले नरहेको भन्दै सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे। कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै उनले एक अर्काको आस्था र विश्वासमा आँच आउेन कार्य नगर्न समेत आग्रह गरेका छन्।