काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अहिले भइरहेका अनियमितता लुकाउने प्रयास भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति लामिछानेले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताए । उनले समाजको सद्भाव खल्बल्याउने मान्छेलाई आफ्नो सामाजिक सञ्जालबाटै बहिष्कार गर्न आग्रह गरे।
सभापति लामिछानेले जाति जातिबीचको द्वन्द्व अहिले नरहेको भन्दै अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे। उनले कानूनी रुपमा वर्जित काम गर्न नमिल्ने भन्दै एक अर्काको आस्था र विश्वासमा आँच आउने नगर्न आग्रह समेत गरे ।
सभापति लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर राजनीतिको राेटी सेक्ने काम गर्न नहुने बताएका छन् ।