कृषा चौलागाई निर्देशित सिनेमा ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । सिनेमाको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।
कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।
निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित सिनेमा हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, सिनेमा राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् । राजनीति सिनेमाको एउटा लेयर मात्रै भएको उनले स्पष्ट पारेकी छन् ।
समाजबाट राजनीति अलग हुन नसक्ने र चाहेर पनि कोही यसबाट भाग्न नसक्ने उनी बताउँछिन् । त्यही नै सिनेमामा समेटिएको कृषाको भनाइ छ । दर्शकसँग ‘ऐंचो पैंचो’ गर्न आफू अब अन्तिम चरणमा रहेको उनको भनाइ छ । आफ्नो टिमले दर्शकलाई राम्रो सिनेमा दिने र दर्शकबाट माया पाउने अपेक्षा गरेको उनले बताइन् । यही नै ‘ऐंचो पैंचो’ भएको उनी स्पष्ट पार्छिन् ।
गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । सिनेमाको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि सिनेमा सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् ।