काठमाडाै-हरिवंश आचार्यले सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।
चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’मा फिल्म ‘महापुरुष’बाट हरिवंशले उक्त अवार्ड हात पारेका हुन् । समारोहमा फिल्म ‘प्रकाश’बाट दीया मास्केले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद)को अवार्ड ‘चिसो मान्छे’बाट दीपेन्द्र के. खनालले पाएका छन् । उत्कृष्ट छायांकनको अवार्ड फिल्म ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान, उत्कृष्ट सम्पादनको अवार्ड ‘दोख’बाट निमेष श्रेष्ठले प्राप्त गरे ।
उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘प्रकाश’बाट दिनेश राउतले प्राप्त गरे । विसं २०७८ र २०७९ गरी दुई वर्षको अवधिमा सार्वजनिक प्रदर्शन भएका फिल्ममध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेल समुपस्थित र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको विशिष्ट आतिथ्यता रहेको समारोहमा विशेष चलचित्र पुरस्कार तथा विशेष योगदान सम्मान गरी ५० भन्दा बढी चलचित्रकर्मीहरूलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको छ । समारोहमा वि. सं. २०७८ र २०७९ को दीर्घ साधना सम्मानबाट क्रमशः श्री लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र श्री शिव सुन्दर श्रेष्ठगरी दुई जनालाई जनही नगद पुरस्कार ३ लाख ७५ हजार रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो ।