‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९७३ दिन अगाडि
‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक, कमलामाई अवतारमा सशक्त विपिन

काठमाडौं - आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक सिनेमाको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर मर्मस्पर्शी र सशक्त लाग्छ । अल्पसंख्यक लैंगिक समुदाय र मधेशको कथावस्तुमा निर्माण भएको सिनेमाले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपिनले कमलामाई अवतारमार्फत लैंगिक अल्पसंख्यक समुदायको कथावस्तुमार्फत सशक्तीकरणको सन्देश दिन खोजेका छन् । समग्रमा बदलाको कथामा आधारित सिनेमा जस्तो ट्रेलरबाट बुझ्न सकिन्छ ।

पारालैंगिक चरित्रमा देखिएका विपिनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेको देख्न सकिन्छ । सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्सलाई समेत सिनेमाको सार्वजनिक ट्रेलरमा चित्रण गरिएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ । सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।