काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गरेका छन ।
शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले यस्तो बताएका हुन । उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे । उनले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको दाबी गरे । प्रधानमन्त्री दाहालले राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको बताएका हुन ।
उनले आफैँले गरेका राम्रा काम पनि जनतासम्म पुर्याउन नसकेका गुनासो गर्दै यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशिल हुने बताएका हुन । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको बताएका हुन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन । आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्दैछन् ।