अमेरिकाको टाउको दुखाइ बन्यो किम र पुटिनबीचको भेटवार्ता, कस्तो होला सहकार्य ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६७ दिन अगाडि
अमेरिकाको टाउको दुखाइ बन्यो किम र पुटिनबीचको भेटवार्ता, कस्तो होला सहकार्य ?

काठमाडाै ‍- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले यसै महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कार्यक्रम रहेको अमेरिकी भनाइ छ ।

किमले रुसको भ्रमण गर्ने भएका हुन् । युक्रेन युद्ध जारी रहँदै यी दुई नेताहरूबीच भेटवार्ता हुने भएपछि उनीहरूले हतियारको विषयमा छलफल गर्ने अनुमान गरिएको छ । उत्तर कोरियाले सुरुवातदेखि युक्रेनविरुद्धको युद्धमा रुसलाई समर्थन जनाउँदै आएको छ । उत्तर कोरियाली हतियारहरू युक्रेनी भूमिका भेटिएको पनि चर्चा छ । यस्तोमा मस्कोलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुन सक्ने अमेरिकी भनाइ छ । यस पूर्वनिर्धारित बैठक रुसको पूर्वी तटमा रहेको बन्दरगाह शहर भ्लादिभोस्तोकमा हुन सक्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।

किम पुरानै संस्कारअनुसार रेलबाट रुस प्रस्थान गर्नेछन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले हालै मात्र दुई देशबीच हतियार वार्ता सक्रिय रूपमा अगाडि बढिरहेको बताएपछि किम र पुटिनले भेट्न लागेको जानकारी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसका रक्षामन्त्री सर्गेई शोइगुले उत्तर कोरियाको भ्रमण गर्दै उत्तर कोरियालाई हतियार बेच्न प्रेरित गरेको बताएका थिए । गत जुलाई २७ मा उत्तर कोरियाको विजयी दिवसमा पनि किम र पुटिनबीच पत्र आदानप्रदान भएको थियो । त्यसबेला किम र पुटिनले द्विपक्षीय सहयोग बढाउने प्रतिबद्धता जनाएका थिए । त्यसबेला अमेरिकाले उत्तर कोरिया र रुसबीच हतियार किनबेच हुन नहुने प्रतिक्रिया दिएको थियो । अमेरिकाका अनुसार उत्तर कोरियाले रुसलाई हतियार दिएमा अमेरिकाले प्रतिबन्धहरू झनै कडा पार्ने चेतावनी दिएको छ ।

 उत्तर कोरियाको खतराविरुद्ध उभिन भन्दै यतिबेला दक्षिण कोरिया, अमेरिका र जापानले मिलेर बारम्बार संयुक्त युद्ध अभ्यास गर्दै आएका छन् । पुटिन र किमको भेटको सन्दर्भमा दक्षिण कोरियाले अब चीन, रुस र उत्तर कोरियाले पनि संयुक्त युद्ध अभ्यास गर्नेमा चिन्ता व्यक्त गरेको छ । दक्षिण कोरिया र अमेरिकाको गुप्तचर विभागलाई अर्को यो पनि डर छ कि, यतिबेला उत्तर कोरियाले रुसलाई हतियार दिए रूसले पनि उत्तर कोरियालाई भविष्यमा हतियारहरू आपूर्ति गर्न सक्छ । अझ अमेरिका र साझेदार राष्ट्रलाई यो पनि चिन्ता छ कि किम जोङ उन र पुटिनबीच भेटवार्ता हुँदा उनीहरूबीच आणविक हतियार कार्यक्रमको ज्ञान र सीप आदानप्रदान गर्ने सहमति पनि हुन सक्छ । रुस विश्वमा सबैभन्दा बढी परमाणु हतियार भएको राष्ट्र हो, उत्तर कोरिया पनि परमाणु हतियार सम्पन्न राष्ट्र हो । यी दुई देशबीच परमाणु कार्यक्रमबारे सहकार्य भए उनीहरुले झनै शक्तिशाली हतियार बनाउन सक्नेछन् ।