आफूखुसी फुली लगाउने ४२ नगरप्रहरी निलम्बित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९६१ दिन अगाडि
आफूखुसी फुली लगाउने  ४२ नगरप्रहरी निलम्बित

 काठमाडाै‍ -आफूखुसी असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ ।

महानगरले ती नगर प्रहरीलाई ३० दिनका लागि निलम्बन गरेको हो ।  ‘महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भए पनि उहाँहरूले आफूखुसी आजैदेखि फुली लगाएर हिँड्नुभएको रहेछ । उहाँहरूले अनुशासनविपरीतको कार्य गर्नुभएकाले निलम्बन गरिएको हो,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने । उनका अनुसार ती नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ । महानगरले उनीहरूलाई गत २५ असारमा बढुवा गरेको थियो । उनीहरू सहायकस्तर तेस्रो तहबाट सहायकस्तर चौथोमा बढुवा भएका थिए ।

प्रदेश निजामती ऐन ०७९ जारी भएपछि छैटौँ र आठौँ तहबाहेकका कर्मचारीको स्वतः बढुवा हुने व्यवस्था थियो । तर, महानगरले ऐनबमोजिम बढुवा नगरेपछि ती कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । अदालतले उनीहरूका पक्षमा फैसला गरेपछि महानगरले बढुवा गरेको थियो ।