काठमाडौं -आईएनआई सिनेमाजको तेस्रो फ्रेन्चाइजी हल शुक्रबारदेखि नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा सञ्चालनमा आएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अभिनेता हरिवंश आचार्यले उक्त मल्टिप्लेक्सको उद्घाटन गरे । स्क्रिनप्ले फिल्म्सको स्वामित्व रहेको यो हलमा कलाकारहरु दीपकराज गिरी र दीपाश्री निरौलाको पनि लगानी छ । गिरी स्क्रिनप्ले फिल्म्सका अध्यक्ष समेत हुन् । उनकै फिल्म ‘छक्कापञ्जा ४’ प्रदर्शनसँगै यो हल औपचारिक रुपमा सञ्चालनमा आएको हो । दुई पर्दा रहेको हलमा कुल ३८७ सिट क्षमता छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कलाकारले मेहनत गरे सिनेमा हलको मालिक पनि बन्न सकिन्छ भन्ने सन्देश दीपक-दीपाले दिएको बताए । ‘मैले पनि जिरोबाट व्यवसाय थालेको हिसाबले दीपक–दीपाको सन्देश साँच्चिकै अनुकरणीय छ । हरेक कलाकारका लागि एकदमै ठूलो म्यासेज हो,’ उनले भने । कोरोना महामारीपछि आर्थिक गतिविधि सुस्ताएको बेला यो फिल्म हल सञ्चालनले गतिविधि बढ्ने विश्वास ढकालले व्यक्त गरे । ‘अहिले वास्तवमा मान्छेलाई पब्लिक कन्फ्युजन भएको स्थिति छ । आउने दिनमा उत्साहजनक गतिविधि बढ्छ भन्ने सन्देश यो हलले दिएको छ । यो लोकेसन आफैंमा धेरै नै सेन्टरमा छ । यसले व्यवसाय बढ्ने कुरामा विश्वास छ,’ उनले भने । अभिनेता आचार्यले यो नामको हललाई देशव्यापी विस्तार गर्नुपर्नेमा जोड दिए । कलाकारले हल सञ्चालन गर्न सक्छन् भन्ने कुरालाई लिएर आफूले गर्व महसुस गरेको उनले बताए ।
अभिनेता तथा स्क्रिनप्ले फिल्म्सका अध्यक्ष दीपकराज गिरीले आजदेखि आफ्नो भूमिका प्रदर्शकको रुपमा पनि बदलिएको बताए । ‘तर म आफूलाई निर्माताको रुपमा चिनाउन चाहन्छु । किनभने निर्माता र प्रदर्शक नङ-मासुजस्तै हुन्,’ दीपकले भने, ‘दुवैले एकअर्कालाई बचाउनुपर्छ । किनभने अर्बौं रुपैयाँका हिन्दी र अंग्रेजी फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको नेपाली फिल्मलाई माया गर्नु जरुरी छ । किनभने म आफूलाई निर्माता भन्न रुचाउँछु ।’ आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले अत्याधुनिक प्रविधि र सुरक्षालाई ख्याल राखेर हल निर्माण गरिएको बताए । निकट भविष्यमा अन्यत्र पनि हल विस्तारको तयारी रहेको थापाले बताए ।‘एनबी सेन्टर’ हलको सञ्चालक समिति सदस्यहरुमा दीपकराजसहित दीपाश्री निरौला, निर्मल शर्मा, सुरेन्द्र थापा, गृहेन्द्र मुनाकर्मी, भीमसेन कँडेल, विजय घिमिरे, सिर्जना बस्नेत, प्रभात रिमाल र सर्वजीत सिग्देल छन् । शुक्रबारदेखि नै यो हलमा एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शनमा आएका छन् ।