तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५८ दिन अगाडि
तीनकुने हत्याकाण्डमा पक्राउ परेका दीपेन्द्र राई रिहा

काठमाडौं - तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले शनिबार पक्राउ गरेको दीपेन्द्र राई रिहा भएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार उनलाई आफन्तको जिम्मामा छाडिएको हो । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो । सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६ वर्षकी शुभद्रा भुजेल र १९ वर्षका नवीन भन्ने विशाल राईको हत्या भएको थियो । घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर आइतबार प्रहरीले पेप्सीकोलाबाट सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । सञ्जयले आफ्नो नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । दीपेन्द्रको संलग्नता नदेखिएकाले उनलाई छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरले जानकारी दिए ।