‘परदेशी–२’लाई प्रदर्शन अनुमति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९४८ दिन अगाडि
‘परदेशी–२’लाई प्रदर्शन अनुमति

 काठमाडाै‌ -बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ ।

केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।  प्रदर्शनको झन्डै ३ साताअघि आइतवार साँझ चलचित्रको सेन्सर गराइएको हो । सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैंची चलाएको छैन । सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरूले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए । ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरू चल्छ भनेर शुभकामना दिनुभयो ।’ 

चलचित्रको तर्फबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा सिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए । चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ । युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।