काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।
बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार बझाङ जिल्ला र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्दार र व्यवस्थापनका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘अहिले बझाङ र आसपासको क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन गर्दछौं । हालसम्म भएको उद्दार, राहत र व्यवस्थापनमा भएको पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद पनि दिन चाहन्छौं,’ उनले भने । प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उनले बताए । प्रधानमन्त्रीले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने पनि प्रतिवद्धता व्यक्त गरे । मंगलबार ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलामा गरि करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।