‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९३७ दिन अगाडि
‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक

 काठमाडाै‌ -यस वर्षको प्रतीक्षितमध्येको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका शीर्ष दुई अभिनेता विपिन कार्कीको ‘भष्मे डन’ पात्र र सौगात मल्लको पात्रबीचको टकरावलाई देखाइएको छ । 

२०७२ सालमा प्रदर्शनमा आएको सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलका रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण भएको हो । सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख भन्ने प्रश्न गर्दै सार्वजनिक भएको ट्रेलरमा भष्मे डन पात्रले आफ्नो अस्तित्व र पहिचानका लागि गरेको संघर्षलाई चित्रण गरिएको छ । 

चलचित्रमा अभिनेता सौगात मधेशी चरित्रमा प्रस्तुत छन् । अभिनेत्री स्वस्तिमा खड्का दुर्गा माताको गेटअपमा देखिएकी छन् ।  दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रमा विपिन, सौगात र स्वस्तिमाका साथमा प्रकाश घिमिरे, लोकेन्द्र लेखक, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ ।खगेन्द्र लामिछानेको लेखन र निर्माण रहेको यस चलचित्रमा खगेन्द्र स्वयंमसँगै वर्षा सिवाकोटी विशेष भूमिकामा छन् । चलचित्रको एक गीतमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् ।  दशैंको अवसर पारेर कात्तिक ४ गते (फूलपाती)बाट चलचित्र प्रदर्शनमा आउँदैछ ।