काठमाडाै -यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बिक्री सुरु भएको छ ।
मल्टिप्लेक्स हलहरूले मंगलवारबाट चलचित्रको बुकिङ खुलाएका हुन् । बाँकी हलहरूले बुधवारबाट बुकिङ खुला गराउने तयारी छ । हलको प्रारम्भिक शोज संख्या हेर्दा राम्रो शोजका साथ चलचित्रले प्रदर्शन आरम्भ गर्ने देखिएको छ ।
यसको हाइप र ब्रान्डको कारणले पनि चलचित्र प्रतीक्षित छ । यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता हिट चलचित्र दिएका निर्देशक नारायण रायमाझीको प्रोजेक्ट भएका कारण ‘परदेशी २’लाई लिएर पर्खाइ छ । त्यसमाथि साङ्गीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपूतले अभिनय गरेको पहिलो चलचित्र भएका कारण अझ चासोका साथ हेरिएको छ । चलचित्रमा प्रकाशका साथमा केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले युवापुस्ताको विदेश मोह र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक रायमाझी स्वयंम मिलेर चलचित्रको निर्माण गरेका हुन् । दशैँको माहोलमा प्रदर्शनमा आउने यो चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।