काठमाडाै -नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ हुँ भन्ने राजनीतिक दलहरुले आफूलाई पुष्टि गरेर देखाउनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै उनले नयाँ भन्ने कुरा मितिको आधारमा नभई संस्कृति र प्रवृत्तिको आधारमा हुने भएकाले नयाँ राजनीतिक दलहरुले आफूलाई नयाँ हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने तर्क गरे। दशैं, तिहारलगायतका चाडपर्वको अवसर पारेर नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले कुनै राजनीतिक दल पुरानो हुँदैमा सक्कियो भन्न नमिल्ने बताउनुभयो । उनले मुलुक बनाउन सकिन्छ भन्ने अठोट लिएर प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।
महामन्त्री शर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकलाई अघि बढाउनुपर्ने बताए । माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकमा समाजवादको विकल्प नभएको उल्लेख गर्दै त्यसका लागि एकतावद्ध भएर अघि बढन काँग्रेस–कम्युनिष्ट पार्टीहरुलाई आग्रह गए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र सकिन लागेको भन्दै त्यसलाई बलियो बनाउन पनि समाजवादका पक्षधर राजनीतिक पार्टीहरु जुर्मुराएर उठनुपर्ने बताए।
कार्यक्रममा बोल्दै नेकपा –माले)का महासचिव सिपी मैनालीले ठूला राजनीतिक दलहरुले विगतमा गरेका गल्ती, कमजोरीहरुलाई सच्याउँदै अघि बढनुपर्ने बताए । उनले मिशन २०८४ लाई सफल बनाउन पनि ठूला राजनीतिक दलहरुले विचार, राजनीतिक र शैलीमा आमूल सुधार गरेर अघि बढनुपर्ने बताए । महासचिव मैनालीले ठूला दलहरुले आफूलाई पुनर्विचार नगरेकै कारण नयाँ राजनीतिक दलहरुले खेल्ने अवसर पाएको जिकिर समेत गरे ।