नेपाल व्यापार संघले नेपालीहरुकाे महान पर्व बडा दसैंका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विहिबार काठमाडौँको खिचापोखरीमा एक कार्यक्रमको आयोजना गरि २०८० सालको विजया दशमीसहित, शुभदिपावली, छठ पर्व, नेपाल संवत ११४४ तथा ल्होसार पर्वलाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको हाे ।
नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय ठमेलका प्रमुख कर अधिकृत बिमला अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सबैलाई शुभकामना प्रदान गर्दै प्रमुख अतिथि अधिकारीले करको दायरामा आउनु भनेको राज्यलाई माथि उठाउनु भएकाले इमान्दारीताका साथ करको दायरामा आउनु व्यापारीहरुको समेत जिम्मेवारी भएको र करसँग भएका समस्या चुनौतीमा आफ्नो पूर्ण साथ रहने बताइन् ।
नेपाल व्यापार संघका अध्यक्ष गौतमले पनि सबैमाझ शुभकामना दिँदै व्यापारीहरुको समस्याका विषयमा आफु निरन्तर लागिपरेको र आगामी दिनमा पनि व्यापारिक क्षेत्रका समस्या सामाधानमा लागिपर्ने बताए । उनले व्यापारीहरुले झेलेको समस्या र त्यसले पारेका असरका बारेमा पनि प्रष्ट्याएका थिए । सिजनमा आउनु पर्ने सामान नआउँदा व्यापारी समस्यमा पर्दै आएकाले त्यसको समाधानमा समेत लागि पर्नु पर्ने उनको धारणा थियो । कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष चिनीकाजी महर्जन राष्ट्रिय व्यवसायी महासंघको अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका महासचिव दिपक सापकोटा, महिला उपाध्यक्ष पार्वती भट्ट, प्रदेशका उपाध्यक्ष, सदस्य, सल्लाहकार समिति सदस्य लगायत व्यापार संघका अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।