काठमाडाै -छायांकनमा जानुअगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ ।
आसुसेन फिल्मसको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् । आइतवार बिहान सार्वजनिक टिजरलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’ भनेका छन् । टिजर रिलिज गरिएता पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने लुकाइएको छ । दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए । सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युग जनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । एक मिनेट १४ सेकेन्डको दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ ।
आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन विस्ट तथा कार्यकारी निर्मातामा चक्र बहादुर चन्द, प्रेम पुरी लगायत छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित छन् । चलचित्रले आगामी दशैँका लागि प्रदर्शन मिति घोषणा गरिसकेको छ ।