काठमाडाै -प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस भइरहेको बताएका छन् ।
त्यसलाई सबै एकताबद्ध भएर परास्त गरिने उनको भनाइ छ । शुक्रवार दिउँसो तनहुँको आँबुखैरेनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन। ‘नेपाली जनताले निकै ठूलो संघर्ष र बलिदान गरेका कारण देशमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगले अधिकार पाएका छन्। केही सामन्ती तत्वलाई जनताले अधिकार पाएको कुरा पचेको छैन। उनीहरू विभिन्न षड्यन्त्रमा लागेका छन्। बिहान मात्रै मैले सुरक्षा निकायका प्रमुखहरूसँग कुरा गरेको थिएँ। देशको सुरक्षा अवस्था सामान्य छ। १२ बुँदे समझदारीका पक्षधर शक्ति परिवर्तनको रक्षाका निम्ति एकैठाउँ छौं। त्यसैले प्रतिगामी दुस्साहसलाई दृढताका साथ परास्त गर्छौं’ उनले भने ।
माओवादी नेतृत्वको सरकारले देश र जनताका पक्षमा महत्त्वपूर्ण कामहरू गरेको उनको दाबी छ । ‘भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापित, जनतालाई सेवा दिने कुरामा हामी इमानदार भएर लागेका छौं’ प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारका फाइलहरू खोलिँदै छ, यो प्रक्रिया रोकिन्न। सरकारले राम्रो काम गरेका कारण प्रतिगामीहरू आत्तिएका छन्। त्यसैले सरकारले गरेका राम्रा काम जनतामा लैजाऊँ।’ प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रमा सुधार आएको बताए। ‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो। अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर दबाबमुक्त भइसकेको छैन’ उनले भने, ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु। त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ। उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ।’
दर्जनौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश
कार्यक्रममा नेकपा एमाले लगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमाले आबुखैरेनी गाउँ कमिटी उपाध्यक्ष सम्झना विक, वडा अध्यक्ष बद्री भट्टराई, गाउँ कमिटी सदस्य नारायणी अधिकारी, वडा सदस्य उपेन्द्र चापागाईं, सामाजिक व्यक्तित्वहरू दीपक गुरूङ, अभिशेक गुरूङ, सूर्य बिक, युवा व्यवसायीहरू भगवान श्रेष्ठ, विनय श्रेष्ठ, तमु समाजका अध्यक्ष चीजकुमार गुरूङ, युवा नेताहरू सन्दीप सुनार, बम बहादुर सुनार, जगत बिक, अमृत बिक, बादल सुनार, निश्चल सुनार, सुजन गुरूङ, नेत्र गुरूङ, रामबादुर गुरुङ लगायत रहेका छन्। नवप्रवेशी नेता–कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका थिए ।