काठमाडाै-बाँकेमा प्रहरीले गोली चलाएको छ।
एक फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।शुक्रबार बिहान पौने ११ बजेतिर जानकी गाउँपालिका वडा नम्बर ४ मा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताए। प्रहरीले आकाश रानालाई पक्राउ गरेको हो। उनको तिघ्रामा गोली लागेको छ। घाइते भएका उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको छ।प्रहरीका अनुसार राना ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी हुन्। कात्तिक ३० गते बिहान ३ बजे कोहलपुरमा उनीसहित केही व्यक्तिहरूले मीनबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट विक गम्भीर घाइते छन्। उनको भारतको लखनऊस्थित अस्पतालमा उपचार भइरहेको छ। ‘उनीहरूबीच केही पुरानो रिसिइबी थियो। के हो भन्ने हामी अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘अहिले पक्राउ परेका व्यक्ति आपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन्।’
उनकाअनुसार राना उक्त घटनापछि फरक-फरक ठाउँमा बस्दै आएका थिए। प्रहरीले उनलाई खोजी गरिरहे पनि विभिन्न ठाउँमा पुगेका थिए । भारत भाग्न उनले त्यहाँबाट दुई जना सहयोगी समेतलाई बोलाएको डिएसपी डाँगीले बताए। ‘दुई जना भारतीय पनि बोलाएका रहेछन् । उनीहरू भने भाग्ने । बारीमा फेला परेका उनलाई नियन्त्रणमा लिन खोजेका थियौं, भागेपछि गोली चलाउनुपर्यो,’ उनले भने। रानाविरूद्ध कात्तिक २८ गते नाबालिगमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा जाहेरी कार्यालयमा परेको थियो । त्यस्तै जेल सजाय समेत काटिसकेको प्रहरीले फेला पारेको छ। लागु औषधको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम उनले ५ वर्ष जेल सजाय काटेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।