प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८९ दिन अगाडि
प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान 

काठमाडौं -प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार बिहान अष्ट्रियातर्फ गएका छन् ।

इन्टरपोलको ९१ औँ महासभामा सहभागी हुन कुँवर नेतृत्वको टोली त्यसतर्फ गएका हुन् । अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म इन्टरपोलको महासचिवालयले आयोजना गर्न लागेको कार्यक्रममा कुँवर सहभागी हुनेछन् । इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानमा भाग लिनेछ ।

साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलले इन्टरपोलका  उच्च अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सो क्रममा विविध विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्ष, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरे । कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।