बबरमहलमा सञ्चालनमा आयो पैदलयात्रुले बाल्ने ट्राफिक लाइट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८८ दिन अगाडि
बबरमहलमा सञ्चालनमा आयो पैदलयात्रुले बाल्ने ट्राफिक लाइट

काठमाडौं -काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए । ‘पैदलयात्रुले स्वीच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ र गाडी रोकिन्छन् अनि यात्रुले बाटो पार गर्छन् ।

त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ श्रेष्ठले भने । उनले पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताए । उनले अटोमेटिक ट्राफिक लाइटले सवारी साधनसँग तालमेल नहुने हुँदा आवश्यकताको आधारमा मात्रै लाइट बाल्ने प्रविधि जडान गरिएको बताए । महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको उनले बताए ।