सबैका घरमा समस्या देखेपछि टिकटक बन्द गरेको हुँ - प्रधानमन्त्री प्रचण्ड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८८१ दिन अगाडि
सबैका घरमा समस्या देखेपछि टिकटक बन्द गरेको हुँ - प्रधानमन्त्री प्रचण्ड

काठमाडाेै -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलगायत धेरै नेताहरूको सुझावअनुसार टिकटक बन्द गरेको बताएका छन्। 

 

सिंहदर बारस्थित आफ्नो कार्यकक्षमा आज सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्रीले समाजलाई नकारात्मक दिशातर्फ लगेको, धेरै विकृति र समस्या पैदा गरेको देखेपछि आफू टिकटक बन्द गर्ने निर्णयमा पुगेको बताए। ‘प्रमुख दलहरूको प्रायः सबै बैठकमा सबैजसो नेताहरूले टिकटकका कारण समाज विकृत हुँदै गएको, अनेकन समस्या उत्पन्न भएको भन्दै बन्द गर्न लगातार सुझाव दिने गर्नुभएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कांग्रेस सभापति देउवाजी (शेरबहादुर देउवा) र एमाले अध्यक्ष ओलीजी (केपी शर्मा ओली)जीले पनि बन्द गर्न ढिला गर्न नहुने सुझाव दिने गर्नुभएको थियो। त्यसैले पनि सरकार यो निर्णयमा पुगेको हो।’ उनले एमाले अध्यक्षले त टिकटक बन्द गर्न ढिला गरे देशै खत्तम हुने अवस्थामा पुग्ने भन्दै झकझक्याएको पनि सुनाए।  प्रधानमन्त्रीले आफ्नै नातिनातिनासमेत रातोदिन टिकटकमा झुम्मिएको देखेर वाक्क लागेको पनि सुनाए। ‘मेरै घरमा नातिनातिनाले जतिखेर पनि टिकटक हेर्ने, राति उठेर पनि हेरेर दिक्क लगाएका थिए। अरूका परिवारमा पनि त्यस्तै अवस्था रहेछ,’ उनको भनाइ थियो। प्रधानमन्त्रीले सामाजिक सञ्जालबारे कानुन बन्ने प्रक्रियामा रहेकाले सरोकारवालाहरू सबैको सुझाव पनि आवश्यक रहेको बताए।