नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेलगीत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेलगीत

 काठमाडाै‌ -वरिष्ठ अभिनेता हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् ।

खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रा खेलाडी’ गाएका हुन् । ​ स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इजजत बढिरहेको माहोलमा यो गीत ल्याएको गायक आचार्यले बताए । ‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरू राखेका छौँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 

गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुइ–चारवटा गीतहरू पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरूको देश चिनाउने दायित्व ठूलो छ । पुराना खेलाडीहरूले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरूलाई जत्ति अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिँदैन ।  अन्य देशहरुमा खेलाडीको सम्मान हेर्दा इष्र्या आउँछ। । त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने/गराउने गीत र म्युजिक भिडियो हामीकहाँ कमै बन्छन् । त्यसकारण सबै खेलहरूमा हाम्रो यो गीत राष्ट्रिय गीतको रुपमा गुज्जियोस् र खेलाडीहरूप्रती सम्मान र प्रोत्साहन मिलोस् भन्ने कामनासहित यो गीत ल्याएका हौँ । ’ विशाल निरौलाको संगीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषदमा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईहरुले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए । गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशीला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन्।