काठमाडौं- प्रेस चौतारी नेपालले 'समृद्धिका लागि संकल्प यात्रा' विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजन गर्ने भएको छ ।
प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो। नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नरेश भण्डारी, रामचन्द्र प्रजापति, संजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यी समिति गठन गरेको छ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र “नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा र पुष्पलाल मध्यपहाडी लोकमार्गले पारेको प्रभाव” विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी presschautari@gmail.com र journalistsameer25@gmail.com मा पठाउन आह्वान पनि गरेको छ ।
साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा. रघु मैनालीको संयोजकत्वमा देवराज आर्यल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतियका साथै १० वटा सान्त्वना लेखहरु छनौट हुने जनाइएको छ । प्रथम, द्धितिय र तृतियलाई क्रमश तीस, बिस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताए ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको वस्तुस्थिती र अवस्था, जनजीवनमा पारेको प्रभाव, पुष्पलाल मध्यपहाडी लोकमार्ग र नेकपा एमालेको सम्बन्ध, नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य, उपलब्धी र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ शहरहरुको वस्तुस्थिती र संभाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाँई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा रहेर खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरु लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
लेख रचना, स्टोरी र फिचर कम्तिमा २००० शब्द र बढिमा ५००० शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि संचार माध्यम वा कहिँ कतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरु समावेश स्मारीका प्रकाशन गरि विमोचन गर्नुका साथै विजेताहरु घोषणा गरि पुरस्कृत गरिने छ।