काठमाडौँ -नेपाल प्रहरीको कन्ट्रोल रुम भेहिकल (सीआरभी) भ्यानको ट्रयाकिङका लागि उपकरण जडान गरिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजिनक एक कार्यक्रमबिच प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई सेनिटल ल्याबका संस्थापक अध्यक्ष प्रणव बुढाथोकी र लोकोमोका ब्राण्ड एम्बेस्डर सुरजसिंह ठकुरीले सीआरभी पट्रोलिङ ट्रयाकिङ सिस्टम हस्तान्तरण गरेका हुन् । सीआरभीमा जडित उपकरणबाट भ्यानको रियल टाइम लोकेसन पहिचान गरी विशिष्ट व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान, विपद् उद्धार तथा खोजी कार्य, आकस्मिक उद्धार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परिचालन गर्नुका साथै सीआरभी भ्यान र प्रहरी कन्ट्रोल रुमको समन्वयमा सहज बनाउन लोकोमो उपकरणको प्रयोग प्रभावकारी हुने प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रहरी कार्यलाई समेत थप प्रविधियुक्त बनाई समग्रमा सुरक्षा प्रदान गरिने र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धताः अभियानलाई मूर्तरूप दिन यो उपकरण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।