काठमाडाै - कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक नासो यही पुस ४ गतेदेखि पुस ७ गतेसम्म आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा मञ्चन सम्पन्न भएको छ ।
गत पुस ४ गतेदेखि पुस ७ गतेसम्म आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा उक्त मञ्चन भएको हो । ‘नासो’ प्रसिद्ध कथाकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो । मैनालीको बहुचर्चित कथा सङ्ग्रह ‘नासो’ मा संग्रहित चर्चित एघार कथामध्ये ‘नासो’ कथा उत्कृष्ट मानिन्छ । नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गरेको छ । यो नाटकले समाजमा घट्ने, स–साना लाग्ने घटनाहरूले बालसुलभ मस्तिष्कमा पर्ने असरलाई नजरअन्दाज नगर्न जोड दिएको छ । सद्भाव थिएटर–नेपालले सुरूवात गरेको ‘शिक्षाका लागि रङ्गमञ्च’ अभियानलाई निरन्तरता दिँदै कोलम्बस ईन्टरनेशनल स्कुल, मालीगाऊँको सहकार्यमा नाटक ‘नासो’ मञ्चन गरिएको हो । बालबालिकालाई रङ्गमञ्चसँग जोडेर उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, व्यक्तित्व विकासमा थप मद्दत गर्न र विषयगत अभिव्यक्तिलाई कलात्मक ढंगले कसरी प्रस्तुत गर्ने भन्ने कला सिक्न अभिप्रेरित गर्नका हेतु सद्भावले यो अभियानको थालनी गरेको निर्देशक राम केसीले बताए ।
निर्देशक केसी भन्छन्, ‘नेपाली रङ्गमञ्चमा बाल नाटकहरू बिरलै मात्र नियमित मञ्चनमा आउँछन्, त्यसमा पनि सबै कलाकारहरू बालबालिका नै प्रयोग गरेर निर्माण हुने बालनाटकहरूको नियमित मञ्चन त झन् हुँदै हुँदैनन् । यो विषयमा सद्भाव थिएटर सचेत छ । त्यसैले पनि हामी शिक्षाका लागि रङ्गमञ्चू अभियान अन्तर्गत विभिन्न विद्यालयहरूसँगको सहकार्यमा बालबालिकालाई सिधै रङ्गमञ्चसँग जोडेर बालनाटकहरू पनि रङ्गमञ्चमा नियमित मञ्चन गर्ने उद्देश्य लिएका छौं ।’
नाटकका सह–निर्देशक किरण चापागाईँ भन्छन् ‘बालबालिका भविष्यका कर्णधार हुन्, जो रङ्गमञ्चका पनि हुन् । त्यसैले बालबालिकालाई रङ्गमञ्चसँग अभ्यस्त बनाउनु जरूरी छ ।’ कथाकार गुरूप्रसाद मैनालीले ‘नासो’ आजभन्दा ९६ वर्ष पहिले लेखेका हुन् । त्यति बेलाको परिवेशलाई ध्यानमा राखेर बालबालिकालाई मञ्चमा उतार्न निर्देशकद्वय सफल देखिएका छन् । पुरानो नेपाली परिवेशको झल्को दिने सेट नभए पनि नाटकमा सेट, पार्श्व सङ्गीत, प्रकाशको प्रयोग राम्रो गरिएको थियो । नाटकमा नुबु शेर्पा, कृषा बरूवाल, सौगात कक्षपती, साइना स्याङ्ताङ्, युक्ती थापामगर, सुजल काफ्ले, आयुषा भण्डारी, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी, रिजन न्यौपाने लगायत सेजल काफ्लेको अभिनय रहेका छन् ।नाटकमा सबै कलाकारहरूको जीवन्त अभिनय गरेका छन् । त्यसमध्ये पनि नाटकमा सुभद्राको भूमिका रहेकी कृषा बरूवाल, देवीरमणको भूमिकामा रहेका सौगात कक्षपती र छोराको भूमिका निर्वाह गरेका सानो बाबू सुजल काफ्लेको अभिनयले अझ मन छुने रहेको छ । नौलीको भूमिकामा रहेकी युक्ति थापामगर र लक्ष्मीको भूमिकामा रहेकी साइना स्याङ्ताङ्को अभिनयमा कुनै खोट देखिँदैन । यस नाटकको नाट्यरूपान्तरण तथा निर्देशन राम केएसीले गरेका थिए भने सह–निर्देशन किरण चापागाईंको रहेको थियो ।