इपीएस परीक्षार्थीको प्रदर्शनमा प्रहरीले हान्‍यो अश्रुग्यास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५६ दिन अगाडि
इपीएस परीक्षार्थीको प्रदर्शनमा प्रहरीले हान्‍यो अश्रुग्यास

काठमाडौं - कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले  कुरा गर्दै अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

मन्त्री ज्वाला निस्किएपछि दुई पिएसओ पनि बाहिर निस्किएका थिए । पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।