काठमाडाै -फिल्म ‘अगस्त्यः च्याप्टर वान’ फागुनमा प्रदर्शनमा आउने भएको छ ।
सोमवार फस्टलुकका रुपमा अभिनेता सौगात मल्लका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा अभिनेता मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा पोस्टरमा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनी एक्सन अवतारमा छन् । अर्कोमा भने उनी गोरखपुरको रेलवे अगाडि हिँडिरहेको कुनै सडकछाप पात्रजस्तो देखिएका छन् ।
यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतूहलता पैदा गर्ने विश्वास लिन सकिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि मल्लले गरेको मिहिनेत पोष्टरमा देख्न सकिन्छ । यो फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ । यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो ।फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।