काठमाडाै -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
लामिछानेले अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मंगलवार मुद्दा दायर गरेका हुन् ।मुद्दामा कान्तिपुर पब्लिकेसन, उक्त पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई-कान्तिपुर डट्कम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको छ । 'कान्तिपुर पत्रिकामार्फत तथा अनलाइन पत्रिका ekantipur.com समेतबाट मिति २०८०१०९।०९ गतेदेखि हालसम्म प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन सक्दैन ।
गैरजिम्मेवार तबरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौं लामो सामाजिक, व्यावसायिक, राजनैतिक तथा पेशागत जीवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यी विपक्षी प्रतिवादीहरूलाई छैन,' रविका तर्फबाट दायर फिराद पत्रमा भनिएको छ, 'पत्रकारिताको मूल मन्त्रलाई बिर्सेर गरिएको प्रकाशन नितान्त दोषयुक्त छ । यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही नगर्ने हो भने पत्रकारिताको नाउँमा जसले जे गरे पनि हुने परिस्थिति सिर्जना हुनुका अतिरिक्त कानूनी व्यवस्था समेत निस्प्रभावी हुने हुँदा मेराविरुद्ध झूटो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरूलाई हदै सजाय गरी न्याय दिलाई पाऊँ ।'