‘चित्रा’को ट्रेलरमा पारिवारिक प्रेम र बदलाको कथा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८४९ दिन अगाडि
‘चित्रा’को ट्रेलरमा पारिवारिक प्रेम र बदलाको कथा

काठमाडौं -मल्टिस्टारर फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म पारिवारिक सम्बन्धमा आउने उतारचढाव र बदलाको कथामा आधारित छ ।३ मिनेट लामो ट्रेलरले कथावस्तुको घुम्ती, चरित्र चित्रण र पात्र स्थापनाबारे प्रकाश पार्छ । ट्रेलरअनुसार मेनुका प्रधान र सन्तोष अधिकारीबीचको सम्बन्धमा तेस्रो व्यक्तिको कारण आउने टसलसँगै कथा अघि बढ्छ । सन्तोष र शुभेच्छा खड्का एकअर्कामा आकर्षित हुँदा यसले निम्त्याउने पारिवारिक संघर्ष यसमा प्रस्तुत छ । अर्कोतर्फ, अर्पण थापा र प्रमोद अग्रहरिबीच बदलाको आयाम छ ।‘धौली’ र ‘पञ्चेबाजा’जस्ता ग्रामिण जीवनका कथावस्तुमा फिल्म बनाएका घनश्याम लामिछानेले यसमा पनि गाउँ र सम्बन्धलाई उधिन्ने प्रयत्न गरेका छन् । मानवीय सम्बन्ध उनको कथाको केन्द्रमा देखिन्छ । दुर्घटनामा घाइते भएर डेढ महिनापछि अभिनयमा फर्किएका पोखरेली अभिनेता प्रकाश घिमिरेको दृश्य फिल्मको आकर्षक पक्ष हो । घिमिरे यसमा प्राकृतिक अभिनयमा फिट छन् । फिल्मको केन्द्रीय चरित्रमा सन्तोषलाई प्रस्तुत गरिएको छ । यो उनको डेब्यु फिल्म समेत हो ।

कूल मिलाएर ‘चित्रा’ बाबुछोरीको सम्बन्धको कथामा आधारित फिल्म हो । अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका सहायक कलाकार पनि यसमा देखिन्छन् ।निर्माता आशिष थापा हुन् भने अधिकारी कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । सन्तोष अधिकारी फिल्म्स, अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा फिल्म तयार भएको हो । फिल्म पुस २७ गते देशब्यापी प्रदर्शन तयारीमा छ ।