आजको दिन विद्युत व्यापारमा कोसे ढुंगा - प्रधानमन्त्री दाहाल 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५० दिन अगाडि
आजको दिन विद्युत व्यापारमा कोसे ढुंगा - प्रधानमन्त्री दाहाल 

काठमाडाै‍ - प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएकाले आजको दिन विद्युत व्यापारका दृष्टिले कोसे ढुंगा हुने विश्वास व्यक्त गरेका छन् । 
 

रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमति नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुने बताए ।  बिहीबारै नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपाल–भारत ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो ।उक्त सम्झौताप्रति उत्साहित प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने सहमति भएको थियो । भारतका विदेशमन्त्रीको भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ । यो आफैंमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुनेछ ।’

अर्को प्रसंगमा उनले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको स्पष्ट पारे ।‘यो सत्ता गठबन्धन सानो दुःखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ । अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं,’ उनले भने उनले रामेछापका जनप्रतिनिधिलाई सेवा प्रवाह, शिक्षा–स्वास्थ्यको विकास, कृषि–पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन अपील पनि गरे ।