काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशन समितिले कोशी प्रदेशको सभामुखमा निर्वाचित भएका अम्बरबहादुर विष्टलाई उम्मेदवारी फिर्ता लिन भनेको छ।
तर एमालेले दाबी नगरेपछि निर्विरोध निर्वाचित सभामुख विष्टले पर्शुराम खापुङबाट पद तथा गोपनियताको शपथसमेत लिइसकेका छन्। उनले शपथ लिइसकेपछि भने राप्रपाको केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सूचना जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्। एक सूचना जारी गर्दै लोहनीले पार्टी अध्यक्षको सहभागितामा रहेको पार्टी पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख लिने वा नलिनेबारे छलफल हुँदा पार्टीले सञ्चाल गर्ने आन्दोलनलाईसमेत दृष्टिगत गर्दै उक्त पदमा जान नहुने सहमति भएको उल्लेख गरेका छन्। तर उक्त सहमति विपरीत कोशी प्रदेशको सभामुखमा उम्मेदवारी दिएकाले निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको छ।