त्रिशूलीमा खसेको जीप निकालियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३८ दिन अगाडि
त्रिशूलीमा खसेको जीप निकालियो

काठमाडाै‌- मंगलबार विहानै त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।

प्रहरीका अनुसार विहान पौने पाँच बजे त्रिशूली नदीमा गाडीको लाइट बलेको देखेपछि जीप खसेको खुलेको थियो । त्यसपछि परिचालित गोताखोरको टोलीले नदीबाट जीप निकालेको छ। चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

‘जीपमा मान्छे थिए वा थिएनन् वा के भएको हो भन्नेबारे यकिन गर्न सकिएको छैन,’ डिएसपी भण्डारीले नेपाल न्यूज बैंकसँग भने ।  जीप त्रिशूली नदीमा खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको गोताखोरको टोली त्यहाँ पुगेको थियो । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।