प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३६ दिन अगाडि
प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, साहब आलमले लिए ६ विकेट

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साहब आलमले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । आलम एक्लैलै ६ विकेट लिएपछि टर हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अलआउट भएको थियो ।

आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिए । १२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीले बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् । पाँच ब्याटर शुन्यमै आउट हुँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ८९ रनको सामान्य लक्ष्य आर्मीले १ विकेट गुमाएर पावरप्ले भित्रै भेट्टायो । आर्मीका ओपनर सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नट आउट रहे । अर्का ओपनर इमरान शेख ३२ रनमा आउट भएका थिए ।यसअघि आर्मीले मधेश प्रदेशलाई १२६ रनले हराएको थियो भने बागमती प्रदेशसँग ३ विकेटले पराजित भएको थियो । कोशीको यो चौथो हार हो । पहिलो खेलमा मधेशसँग ७ विकेटले हारेको कोशी दोस्रो खेलमा एपीएफसँग ६ विकेट र तेस्रो खेलमा पुलिससँग ७ विकेटले पराजित भएको हो ।