काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् ।
बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन् । ‘यस स्थितिमा मिसन ८४ पर्खिन नसक्ने अवस्था आउन सक्छ । देश बर्बाद हुन लाग्यो भने मिसन ८४ भनेर बस्ने अवस्था हुन्न’, उनले भने, ‘उस्तै पर्यो भने गठबन्धन भत्काएर …लाेभीपापीहरु नभत्किन सक्छन् । एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे ।
‘जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुन बाट जोगाउनुपर्ने हुन सक्छ’ उनले भने पार्टीले सिठी बजाउँदा आन्दोलनमा पुग्ने गरी तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘छोटो, ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिन पर्ने हुन सक्छ । उनीहरुले हामीमाथि जस्तोसुकै प्रहार गर्न सक्छन्’, ओलीले भने । अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले समय घर्किनुअघि नै निर्णायक कदम चाल्नुपर्ने बताए ।