काठमाडौं - अक्सिडेन्टल पब्लिक स्कुल अनामनगर काठमाडौंले वार्षिक खेलकुद कार्यक्रम २०८० सम्पन्न गरेको छ । दशरथ रंगाशाला काठमाडौंमा माघ २८ गते र २९ गते दुई दिने कार्यक्रमको आयोजना गर्दै विद्यालयले वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. सिद्धिप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा २८ गते आइतबार औपचारिक उद्घाटन मार्फत सुरु भएको वार्षिक खेलकुद कार्यक्रममा फुटबल, एथ्लेटिक्स, कक फाइट, स्किपिङ, मार्वल रेसलगायतका खेलहरूको आयोजना गरिएको थियो ।
बालबालिकाहरूको मानसिक तथा बौद्धिक विकासमा मात्र नभएर शारीरिक विकसमा समेत जोड दिँदै विद्यालयले हरेक वर्ष खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्दै विद्यालयका निर्देशक डि.बी. निरौलाले विद्यार्थीहरुको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमको आयोजना प्रत्येक वर्ष विद्यालयले गर्दै आएको बताए ।

कक्षा कोठामा दिइने सीमित ज्ञान भन्दा यस्ता कार्यक्रमले नै विद्यार्थीको मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्याउने भएकाले विद्यालयले खेलकुद कार्यक्रमको आयोजना गर्ने गरेको विद्यालयका प्र.अ. टेक बहादुर पौडेलले बताए ।
सम्पन्न खेलकुद प्रतियोगितामा विजेता बन्न सफल टिम तथा विद्यार्थीलाई मेडल, ट्रफी, प्रमाणपत्र तथा शिल्ड प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।








