चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८८ दिन अगाडि
चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक

काठमाडौं - नेपाली कथानक चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंका आज कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक्सन-प्रधान ट्रेलर सार्वजनिक गरियो । खड्काको निर्देशन तथा अभिनय रहेको फिल्मले सीमा अतिक्रमणको मुद्दा उठाएको छ । नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा फिल्म बनाएका खड्काको यो पछिल्लो फिल्मले नेपाल-भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गर्छ । ट्रेलरमा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बाको पनि अभिनय छ ।

देशभर च्यारिटी प्रदर्शन गरिएको यो फिल्म अब भने हलमा रिलिज हुन लागेको हो । यो फिल्म फागुन २५ गते थिएट्रिकल प्रदर्शनको तयारीमा छ । ‘देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि हामी फिल्मलाई हलमा ल्याउँदैछौं । अहिलेको सन्दर्भमा यो फिल्मको सन्देश र महत्व झन् बढेर गएको छ’ निर्देशक खड्काले भने । चलचित्र विकास बोर्डले यो फिल्मलाई विशेष फिल्मको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क पनि प्रदान गरेको छ । अंग्रेजी टाइटल ‘बार्ब्ड वायर’ राखिएको यो फिल्मलाई सामना फिल्म्स प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेका हुन् । सत्यकला राई कार्यकारी निर्मात्रीको रुपमा छिन् ।