काठमाडौँ - चलचित्रकर्मीले चलचित्र क्षेत्रमा लगाइएको अव्यवहारिक कर हटाउनुपर्ने मागसहितको एक ज्ञापनपत्र चलचित्रकर्मीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई बुझाएका छन् ।
मंगलबार कलाकर्मीको एक जम्बो टोली अर्थ मन्त्रालय सिंहदरबार पुगेर मन्त्री महतलाई ज्ञापन पत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा चलचित्र विकाश शुल्क, स्थानीय कर लगायत चलचित्रकर्मी माथि लगाइएको दोहोरो तथा अव्यवहारिक कर हटाउनुपर्ने लगायत विभिन्न बुँदा समेटिएको टोलीमा सहभागी चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थाले बताए ।
पत्र बुझ्दै मन्त्री महतले चलचित्रकर्मीको माग प्रति आफू सकारात्मक रहेको र आफूले सक्दो सहयोग गर्ने बचन समेत दिएको कायस्थाको भनाई छ । टोलीमा कलाकार दीपकराज गिरी, अशोक शर्मा, दीपेन्द्र के खनाल, खगेन्द्र लामिछाने, नरेन्द्र महर्जन, रबिन्द्र सिंह बाँनिया, नक्किम उदिन लगायत दर्जनबढी कलाकर्मीको सहभागीता रहेको थियो ।