काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । उनीहरुलाई पोखरा महानगरपालिका-११, सिद्धेश्वरमार्गबाट पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार, अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद भएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तरगतको कसूरमा कारबाही प्रक्रिया अघि बढ्ने एसपी बोगटीले बताए ।