काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले बुधबार शपथ लिएका हुन्। २० सदस्यीय मन्त्रिमण्डलमा एक जना प्रधानमन्त्री दाहाल आफैँ छन् भने तीन जनाले सोमबार नै शपथ लिइसकेका छन्। प्रधानमन्त्री दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुले बुधबार राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।
प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। प्रधानमन्त्री दाहालले बाँकी १९ जनाकै जिम्मेवारी पनि तोकेका छन्।
प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। उनी एमालेका सचिव हुन्।
त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुनले अर्थको जिम्मा पाएका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्। त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्।