‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५९ दिन अगाडि
‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने

काठमाडौँ - ‘पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुने भएको छ ।

आयोजक नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्रले बुधवार साँझ राजधानीमा एक कार्यक्रम गर्दै महोत्सवको विभिन्न पक्षको जानकारी दियो ।मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलतालाई चलचित्र मार्फत मनाउने उद्देश्य यस पटकको महोत्सवको छ । पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चलचित्रको कलामा मात्र सीमित नभई मानव अधिकार र दिगो विकास जस्ता महत्त्वपूर्ण मुद्दाहरूमा संवाद समेत हुनेछ । मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलताका विषयवस्तुलाई प्रवर्द्धन गर्दै विश्वभरका विविध चलचित्रको छनोटका साथ पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दर्शकलाई मोहित पार्ने तयारी रहेको आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष सुवेदीले बताए ।

आगामी मार्च २९ देखि ३१ सम्म आयोजना हुने महोत्सव चलचित्र विकास बोर्ड र पर्यटन बोर्डमा चल्नेछ । यस वर्षको महोत्सवले सांस्कृतिक आदान प्रदान र समझदारीको माध्यमको रूपमा सिनेमाको विश्वव्यापी अपिललाई जोड दिँदै ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरूको प्रतिनिधित्व गर्ने ६० फिल्म सहभागी छन् ।मार्च २९गते उद्घाटन सहित सुरु हुने महोत्सव चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास समेत आयोजना हुनेछ । सर्वसाधारणका लागि निःशुल्क प्रवेशको ब्यवस्था गरिएको महोत्सवले सबै क्षेत्रका मानिसलाई  चलचित्र प्रति आकर्षण गर्ने विश्वास लिएको छ । महोत्सवमा उत्कृष्ट फिल्म, फिल्मकर्मी पुरस्कृत समेत हुनेछन् ।  कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार शान्ति प्रिय, चलचित्र निर्देशक माधव राज खरेल लगायतले महोत्सवको महत्वका विषयमा धारणा राखेका थिए ।